धरानको नयाँ बसपार्क सञ्चालन व्यवस्थित गर्न ट्राफिक प्रहरीको ७ बुँदे अनुरोध

२०८३ श्रावण १४, बिहीबार
पढ्ने समय : 2 मिनेट

धरान–८ स्थित नयाँ बसपार्कबाट सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानले ७ बुँदे अनुरोध सार्वजनिक गरेको छ। नयाँ बसपार्क सञ्चालनसँगै सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्ने उद्देश्यले अनुरोध गरिएको हो।

ट्राफिक प्रहरीले बसपार्कबाट सञ्चालन हुने सार्वजनिक यातायातका बसले भानुचोकमा स्टपेज नलगाई नयाँ बसपार्कबाटै यात्रु चढाउने व्यवस्था गर्न अनुरोध गरेको छ।

त्यस्तै, भानुचोक तथा सडकमा स्टपेज लगाएर यात्रु चढाउने–ओराल्ने कार्य तत्काल रोक्न, बसपार्क टर्मिनल भवनभित्र रहेका ई–रिक्सा तथा टेम्पोलाई तोकिएको स्थानबाट मात्र सञ्चालन गर्न र रिजर्भका लागि मात्र छुट्याइएको टेम्पोलाई तोकिएको व्यवस्थाअनुसार प्रयोग गर्न भनिएको छ।

नयाँ बसपार्कभित्र बस स्टेन्ड, चतरा स्टेन्ड र मंगलबार टेम्पो स्टेन्डबाहेक अन्य स्थानबाट रिजर्भ लिएर यात्रु बोक्न नपाइने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि अनुरोध गरिएको छ।

यसैगरी, रात्री सेवाका बसहरू नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्ने व्यवस्था भए पनि साविकको रात्री बसपार्कबाट समेत सञ्चालन भइरहेको पाइएकाले उक्त कार्य रोक्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

धरान उपमहानगरपालिकाले तोकेको भन्दा बढी भाडा लिने टेम्पो तथा ई–रिक्सामाथि कडाइका साथ नियन्त्रण गर्न समेत अनुरोध गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको यो अनुरोधले नयाँ बसपार्कबाट सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित गर्दै भानुचोक क्षेत्रमा हुने सवारी चाप तथा अव्यवस्थित यात्रु ओसारपसार न्यूनीकरण गर्ने लक्ष्य राखेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय