पिण्डेश्वर बोलबम मेलामा रात्रीकालीन पूजा तथा दर्शन बन्द

२०८३ श्रावण १५, शुक्रबार
पढ्ने समय : 2 मिनेट

श्रावण महिना भगवान शिवको प्रिय महिना तथा सोमबार भगवान भोलेनाथप्रति समर्पित दिन भएकाले धरान–विजयपुरस्थित श्री पिण्डेश्वर बाबाधाममा बोलबम मेला विशेष धार्मिक महत्वका साथ सञ्चालन हुँदै आएको छ।

तर, यस वर्ष मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रीकालीन पूजा तथा दर्शन बन्द गर्ने निर्णयगरिएको श्री पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ।

समितिका अध्यक्ष विकास कुमार बनेपालीद्वारा जारी प्रेस विज्ञप्तिमा मुलुकमा विकसित परिस्थितिका कारण शान्ति सुरक्षाको अवस्था सहज नभएकाले २०८३ सालको पिण्डेश्वर मेला राति सञ्चालन गर्दा सुरक्षा जोखिम देखिन सक्ने भन्दै रात्रीकालीन पूजा तथा दर्शन बन्द गर्नुपरेको उल्लेख गरिएको छ।

समितिले भक्तजनलाई बिहान ५ बजेदेखि मात्र पिण्डेश्वर बाबाको दर्शन तथा जलार्पणका लागि सहभागी हुन अनुरोध गरेको छ। रात्रीकालीन दर्शन तथा जल अर्पण गर्न असमर्थ हुनुपरेकोमा समितिले भक्तजनसमक्ष क्षमायाचना समेत गरेको छ।

विज्ञप्तिमा विगतका घटनाबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, सदियौँदेखि मिलेर बसेको सामाजिक सद्भाव कायम राख्दै वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रह गरिएको छ।

समितिले भक्तजनको सुरक्षा र शान्ति–सुव्यवस्थालाई प्राथमिकतामा राख्दै रात्रीकालीन पूजा तथा दर्शन बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय