- धरान–२ देशिलाइन क्षेत्रका आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा व्यवसायीहरूलाई लक्षित गर्दै धरान उपमहानगरपालिकाले छलफलमा सहभागी हुन सार्वजनिक आह्वान गरेको छ।
उपमहानगरपालिकाले जारी गरेको पत्रमा विगत दुई दिनदेखि उठिरहेका माग, गुनासा तथा सरोकारका विषयमा आफूहरू पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै समस्या समाधानका लागि संवाद, छलफल, सहकार्य र आपसी समझदारीको बाटोबाट अघि बढ्न प्रतिबद्ध रहेको जनाएको छ।
समस्याको दिगो, न्यायोचित तथा समुचित समाधान खोज्ने उद्देश्यले सम्बन्धित पक्षलाई आफ्नो धारणा, सुझाव, माग तथा विचार राख्न छलफलमा उपस्थित हुन आग्रह गरिएको छ।

उपमहानगरपालिकाका अनुसार छलफल २०८३ साल श्रावण १५ गते शुक्रबार बिहान ७ बजे धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सभा हलमा आयोजना हुनेछ।
उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, प्रचलित कानुन तथा संविधानद्वारा प्रत्याभूत नागरिक अधिकारको सम्मान गर्दै समस्याको समाधान संवाद र सहकार्यबाटै खोजिने जनाएको छ।




