धरान — केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका स्ववियु सभापति पेशलराज कार्कीले क्याम्पसभित्रको अव्यवस्था, अपारदर्शिता र शिक्षण प्रणालीमा मौलाएको भ्रष्टाचारविरुद्ध कडा आवाज उठाएका छन्। उनका अनुसार, “सञ्चालक समितिको पहिलो बैठकबाटै एक्लै सत्यको कठघरामा उभिने निर्णय लिएको छु। यात्राहरू कठिन छन्, तर असम्भव छैन।” कार्कीले क्याम्पसभित्र पारदर्शिता अभावकै कारण शिक्षाको गुणस्तर घट्दै गएको बताएका छन्। उनका अनुसार, “यदि हरेक बैठकलाई सामाजिक सञ्जालमार्फत प्रत्यक्ष (लाइभ) देखाइयो भने कम्तीमा ५० प्रतिशत भ्रष्टाचार घट्न सक्छ। पारदर्शिता अत्यावश्यक छ।”
उनी भन्छन्, विद्यार्थी भर्ना लिएपछि तिनलाई पास आउट गरुन्जेलसम्म सही ढङ्गले मार्गदर्शन गर्नु कलेजको जिम्मेवारी हो। अभिभावकहरूले पनि आफ्ना सन्तान अध्ययन गर्ने संस्थाले केवल पैसा उठाइरहेको छ कि वास्तवमै केही गर्दैछ भन्नेमा चासो लिन जरुरी रहेको उनले बताएका छन्। उनले शिक्षण प्रणालीलाई “अमानवीय र दुर्भाग्यपूर्ण” भन्दै कडा आलोचना गरेका छन्। विशेष गरी B.Sc. Nutrition and Dietetics संकायमा पढाउने, प्रश्नपत्र बनाउने र उत्तरपुस्तिका परीक्षण गर्ने सबै जिम्मेवारी एउटै समूहले गर्ने प्रथालाई उनले गम्भीर त्रुटि भनेका छन्। उक्त संकायको पहिलो सेमेस्टरमा ३० विद्यार्थीमध्ये ५ मात्र उत्तीर्ण हुनु र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अन्य संकायहरूमा १५७ विद्यार्थीमध्ये ७ मात्र पास हुनु शिक्षाको स्तरबारे प्रश्न उठाउने अवस्था भएको उनको भनाइ छ।
“हामीले उठाएका समस्यामा अब पनि ध्यान दिइएन भने विद्यार्थीहरूले +2 सकेर विदेशिने बाहेक विकल्प देख्दिनँ,” कार्कीले चेतावनी दिएका छन्। उनी भन्छन्, “यो कलेजको प्रणाली हेरेर नै मैले देशको प्रणाली बुझें। अब केही गर्ने सोच्नेहरूलाई पनि यो देशमा बस्ने मन नलाग्ने अवस्था बनेको छ।” कार्कीको अभिव्यक्तिले क्याम्पसभित्र मात्र होइन, सम्पूर्ण विश्वविद्यालय प्रणालीमा पारदर्शिता र सुधारको मागलाई नयाँ ऊर्जासहित अघि बढाएको छ।
केन्द्रिय प्रविधि क्याम्पस धरानमा भोलि हुने शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन सबै विद्यार्थी, अभिभावक र सरोकारवालाहरूप्रति स्ववियु सभापति पेशलराज कार्कीले हार्दिक अनुरोध गरेका छन्।
उहाँले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै भनेका छन् — “हजार माइलको लामो यात्रा एक पाइलाबाट सुरु हुन्छ।
हाम्रो भविष्य हाम्रै हातमा छ। यदि हामीले अहिले आवाज उठाएनौं भने — हाम्रो आवाज कसले उठाउने?”
कार्कीले सबैलाई एकताको सन्देश दिँदै भोलिको धर्नालाई पूर्णरूपमा शान्तिपूर्ण र जिम्मेवार सहभागिताका साथ सम्पन्न गर्न आग्रह गरेका छन्।
📅 समय: बिहान १० बजेदेखि ११ बजे सम्म
📍 स्थान: केन्द्रीय प्रविधि क्याम्पस, धरान गेट
उनका अनुसार, यो आन्दोलन कुनै व्यक्तिको विरोधका लागि होइन, शिक्षण संस्थामा पारदर्शिता, जवाफदेहिता र सुधारको पक्षमा आवाज उठाउने साझा प्रयास हो।
“आउनुहोस्, एकताबद्ध भएर शान्तिपूर्ण धर्नामा सहभागी बनौं,” कार्कीले अपिल गरेका छन्।





