हारती अजिमा मन्दिरको स्थापना बि.सं. २०४९ साल अक्षयतृतियाको शुभ साईतमा श्रदेय गुर्जु मानिक रत्न शाक्यज्युको पहलमा भएको थियो । बि.सं. २०४९ सालदेखि हालसम्म निरन्तर रुपमा मन्दिरलाई व्यवस्थित गर्न तथा निर्माण कार्यको निमित्त श्री हारती अजिमा सेवा समितिले प्रत्येक बर्ष धरान लगायत वरिपरि रहेका जिल्लामा बसोबास गरिरहेका नेवार समुदायको संस्कृतिलाई संरक्षण गर्दै मन्दिरको श्रद्धाभावलाई प्रवर्द्धन गर्न सामूहिक बेल कर्म र ब्रतबन्ध कार्यक्रम गर्दै आईरहेकोछ । हारती माँ को श्रद्धा भावलाई जगत् जन्नीको रुपमा बाल रक्षकको उपनामले प्रसिद्ध रहेको जनविश्वास रहेको पाईन्छ । बिशेषगरी राष्ट्रियताको पहिचानले परिचित नेवार समुदायले चाडपर्व भित्रिए संगै बिबिधतायुक्ति जात्रा पर्वहरुको सन्दर्भमा ञँला पर्व पनि घटस्थापनाको दिनसम्म मनाउने चल्न चलिआएकोछ, ञँला पर्वको बिशेष महत्व बर्षदिन भरी दिवंगत पितृहरुको सम्झनामा नजिकमा रहेको चैत्य, स्तुपा लगायत शक्तिपिठ्को परिक्रमा गरि दिप प्रज्वलनका साथ मोक्ष प्राप्तिको कामनार्थ मनाईने गरेको पाईन्छ । नेपाल सम्वत् को ञँलाथ्व पारू देखि कौलाथ्व पारू (बि.सं. भाद्र शुक्ल प्रतिपदा देखि आश्विन शुल्क प्रतिपदा) सम्म दिप प्रज्वलन गरि पितृ उद्धार, पुण्य र धर्म संचयको कामना गर्ने गरेको पाइन्छ ।





