धरान-२०, विष्णुपादुका गुम्बाडाँडा
ङ्याग्युर उर्गेन छ्योईखोर्लिङ बौद्ध गुम्बा, धरान–२० गुम्बाडाँडाद्वारा आयोजित पत्रकार सम्मेलनमा लामा गुरु खेन रिम्पोर्छे तेन्जिङ ज्युले गुम्बा परिसरमा निर्माण हुन लागेको महत्वपूर्ण धार्मिक संरचनाबारे जानकारी गराउनुभयो।
कार्यक्रममा बोल्दै उहाँले चिनडेडाँडामा ४० फिट अग्लो भगवान बुद्धको अवतार ‘गुरु पद्मसम्भव’ को भव्य प्रतिमा निर्माण कार्य अघि बढिरहेको जानकारी दिनुभयो। प्रतिमासहितको सम्पूर्ण प्रकल्पका लागि रु. ४ करोड ३० लाखको DPR (Detail Project Report) तयार भइसकेको पनि जानकारी गराइयो।


कोशी प्रदेश, सुनसरी जिल्ला अन्तर्गत पर्ने धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुका गुम्बाडाँडामा २०७४ साल असार १ गतेदेखि बौद्ध धर्मका धर्मगुरु टिकाराम लामा खेन रिन्पोछेको सहयोग तथा स्थानीय तामाङ समुदायको समन्वय, सहभागिता र सहकार्यमा दुई तले गुम्बा तथा पाठशाला निर्माण गरिएको छ। स्थानीय बासिन्दा रहरमान तामाङले २ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराए भने खेन रिन्पोछेले ४ कठ्ठा जग्गा स्वयं खरिद गरी कुल ०-६-० कठ्ठाभन्दा बढी क्षेत्रफलमा गुम्बा–पाठशाला निर्माण सम्पन्न गरिएको हो।
हाल सो पाठशाला भवनमा लामा ढावा विद्यार्थीहरूले अध्ययन-अध्यापन, तथा गुम्बाभित्रै नियमित पूजा-पाठ सञ्चालन हुँदै आएको छ। यस गुम्बा तथा पाठशालालाई संरक्षण गर्दै धार्मिक, सांस्कृतिक तथा सामुदायिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अब यस क्षेत्रमा गुरु पद्यम सम्भव (गुरु रिन्पोछे) को विशाल मूर्ति निर्माणको प्रक्रिया अगाडि बढाइएको छ।
कार्यक्रमको मुख्य उद्देश्य र लक्ष्य
१) डाग्यूर उर्गेन छ्योइखोर्लिङ गुम्बा र गुरु पद्यम सम्भवको विशाल मूर्ति निर्माण
धरान-२० को धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ४० फिट अग्लो गुरु रिन्पोछेको मूर्ति निर्माण प्रमुख लक्ष्य राखिएको छ।
२) आधुनिक संरचनासहित गुम्बा निर्माण
पूजा-पाठ, ध्यान, शैक्षिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आधुनिक संरचनायुक्त गुम्बा निर्माण गर्नु।
३) बौद्ध धर्मावलम्बीहरूको संस्कृति संरक्षण र प्रवर्द्धन
धरान-२० मात्र नभई देश-विदेशमा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरूका लागि सेवा, पूजा-पाठ, र धार्मिक-साँस्कृतिक पहुँच पुर्याउने केन्द्रका रूपमा विकास गर्ने।
४) सम्भोटा लिपिको वृद्धि र विकास
तामाङ तथा बौद्ध समुदायमा महत्वपूर्ण मानिने सम्भोटा लिपिको अध्यापन, संरक्षण र विकासमा योगदान पुर्याउने दीर्घकालीन योजना।
लामा गुरुले यो परियोजना केवल धार्मिक सम्पदा मात्र नभई, पर्यटकीय आकर्षण, सांस्कृतिक संरक्षण र समुदायको गौरवका लागि महत्वपूर्ण हुने बताउँदै, सहयोग तथा सहभागिताका लागि सर्वसाधारण, भक्तजन, स्थानीय निकाय र समुदायलाई हार्दिक अपिल गर्नुभयो।
कार्यक्रममा गुम्बा व्यवस्थापन समिति, स्थानीय सरोकारवाला, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिले वातावरण उत्साहपूर्ण बनेको थियो।




