धरान : अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले सशक्त प्रदर्शन गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ।





खेलको पहिलो हाफको ८औँ मिनेटमा जर्जियन क्लब भारतका हेमराज भुजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलको १८औँ मिनेटमा आयोजक धरान फुटबल क्लबले बराबरी गोल फर्कायो। दोस्रो हाफमा धरानले लगातार आक्रमण गरे पनि थप गोल गर्न सकेन। धरान रङ्गशालामा बिहीबार सम्पन्न उद्घाटन खेलमा धरान फुटबल क्लबले भारतको जर्जियन क्लबलाई ट्राइबेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सुरुआत जितसहित गरेको हो।


ट्राइबेकरमा धरान फुटबल क्लबका विवेक राई, राज लिम्बू, प्रज्वल थापा र नगेन राईले सफल प्रहार गर्दै चार गोल गरे। जर्जियन क्लब भारतका शारद मुन्दा र साइजाले मात्र गोल गर्न सके भने बक्स प्रधान र विशाल क्षेत्रीको प्रहार असफल रह्यो।
खेलको ‘म्यान अफ द म्याच’ धरान फुटबल क्लबका विपुल मगर घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे। ट्राइबेकरमा धरानका खेलाडीहरूले देखाएको धैर्य र सटिक प्रहार टोलीको जितको निर्णायक पक्ष बन्यो।

घरेलु दर्शकको उल्लेखनीय समर्थन पाएको धरान फुटबल क्लबले खेलभरि आक्रामक खेल प्रदर्शन गर्दै विपक्षीमाथि निरन्तर दबाब सिर्जना गर्यो। गोलरक्षक तथा डिफेन्डरहरूको मजबुत प्रदर्शनले पनि धरानको जित सुनिश्चित गर्यो।
यस नतिजासँगै आयोजक धरान फुटबल क्लब प्रतियोगिताको क्वाटर फाइनल चरणमा पुगेको छ।
प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले गरेका थिए भने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई विशेष अतिथिका रूपमा उपस्थित थिए।
भोलिको खेल रोयल थिम्पु क्लब भुटान र प्लानिङ ब्वाइज क्लब काठमाडौंबीच हुने तय भएको छ।
यस प्रतियोगितामा एनआरटी काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौं, नेपाल पुलिस क्लब, रोयल थिम्पु क्लब भुटान, जर्जियन क्लब भारत, लालिगुराँस एफसी पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज क्लब काठमाडौं, झापा–११ झापा र आयोजक धरान फुटबल क्लब सहभागी छन्। 




