Hibiscus English Boarding School मा नसर्ने रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

२०८२ चैत्र ३, मंगलवार
पढ्ने समय : 3 मिनेट

धरान । धरानस्थित Hibiscus English Boarding School मा नसर्ने रोग (Non-Communicable Diseases – NCDs), पोषण तथा स्वस्थ खानपान सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

     

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (DFCQC), विराटनगरको सहयोगमा आयोजित उक्त कार्यक्रममा विभागका अधिकृत विक्रम लिम्बु तथा फुड टेक्नोलोजिस्ट गणेश उपाध्याय ले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूलाई नसर्ने रोग के हुन्, तिनका प्रमुख कारणहरू, जोखिम कारक तथा रोकथामका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा प्रस्तुत जानकारी अनुसार नसर्ने रोगहरू जस्तै मुटुरोग, क्यान्सर, मधुमेह तथा श्वासप्रश्वास सम्बन्धी रोगहरू विश्वव्यापी रूपमा मृत्युका प्रमुख कारणका रूपमा रहेका छन्। नेपालमा समेत कुल मृत्युको करिब ६६ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको तथ्य प्रस्तुत गरिएको थियो।

सहजीकर्ताहरूले अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, धुम्रपान तथा मदिरा सेवनजस्ता व्यवहारिक कारणहरूले यस्ता रोगको जोखिम बढाउने बताउनुभयो। साथै उच्च रक्तचाप, मोटोपना, रगतमा चिनी तथा बोसोको मात्रा बढ्नुजस्ता शारीरिक अवस्थाहरू पनि प्रमुख जोखिमका रूपमा उल्लेख गरियो।

     

विद्यार्थीहरूलाई सन्तुलित आहार (Balanced Diet) को महत्वबारे जानकारी दिँदै थालमा आधा भाग तरकारी तथा फलफूल, एक चौथाइ भाग अन्न र बाँकी भाग प्रोटिनयुक्त खाद्य पदार्थ समावेश गर्न सुझाव दिइयो। त्यस्तै चिनी, नुन र अस्वस्थकर बोसो (Trans fat तथा Saturated fat) को सेवन घटाउन र फाइबरयुक्त खाना, मौसमी फलफूल तथा घरमै बनाइएका परिकारको सेवनमा जोड दिन आग्रह गरिएको थियो।

कार्यक्रममा नियमित व्यायाम, पर्याप्त निद्रा, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैली अपनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो। नसर्ने रोगहरू जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित भएकाले समयमै सचेतना अपनाएमा यस्ता रोगबाट बच्न सकिने वक्ताहरूले बताउनुभयो।

विद्यालय प्रशासनले यस्ता ज्ञानमूलक कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यप्रति सकारात्मक व्यवहार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रम आयोजना गरिदिएकोमा DFCQC टोलीप्रति आभार प्रकट गरेको छ।

   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय