
सुनसरीको धरानमा सहकारी संस्थाहरूको नियमन, अनुगमन र बचतकर्ताको रकम सुरक्षाका लागि दक्ष जनशक्ति सहितको बिशेष व्यवस्था गर्न कार्यबाहक मेयर आईन्द्र बेघा समक्ष माग गरीएको छ । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी,धरान नगर सह-सचिव सन्दीप शाक्यको टोलिले उक्त माग गरेका हुन ।

दिउँसो करिब २ बजेको समयमा शाक्य सहितको टोलि कार्यबाहक मेयर बेघाको कार्यकक्षमा पुगि ५ बुदे ध्यानाकर्षण पत्र बुझाउदै उक्त माग गरेका हुन ।
सो क्रममा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहभित्रका सहकारी संस्थाहरूको दर्ता, संचालन अनुमति, नवीकरण, नियमन र अनुगमनको पूर्ण जिम्मेवारी स्थानीय सरकार हुनुपर्ने भन्दै धरान उपमहानगरपालिका भित्र सञ्चालित सहकारी संस्थाहरूको वर्तमान अवस्था र उपमहानगरपालिकाको गैरजिम्मेवारपूर्ण कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) धरान नगर समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।
शाक्यले अहिले देशभर सहकारी क्षेत्रमा गम्भीर संकट चुलिएको र सर्वसाधारण नागरिकले आफ्नो रगत पसिना बगाएर आर्जन गरेको करोडौं रुपैयाँको बचत जोखिममा परेकोले नेपाल सरकार (संघीय सरकार) ले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ती गराउने विशेष अभियान नै सुरु गरिसकेको परिप्रेक्ष्यमा, धरान उपमहानगरपालिका भने यस विषयमा सचेत, सकृय र जिम्मेवार नभएको प्रष्ट देखिन आएको अबगत गराउदै सचेत गराईएको बताए । उनले हाम्रो बजार अनुगमन र अध्ययनका क्रममा धरान उपमहानगरपालिकामा गम्भीर लापरवाही र भद्रगोल अवस्थाहरू फेला परेका छन ।

उपमहानगरपालिकामा सहकारी सम्बन्धि दक्ष जनशक्तिको चरम अभाव, उपमहानगरपालिकामा सहकारी विभाग हेर्ने छुट्टै शाखा र एक जना अधिकृत तोकिएपनि उक्त शाखामा सहकारी प्राविधिक र प्रशासनिक ज्ञान भएका कुनै पनि दक्ष कर्मचारी थप नगरिएको बताए । यसका अलावा जनशक्तिको अदक्षता, सहकारी क्षेत्रको संवेदनशीलता, वित्तीय सन्तुलन, र कानुनी जटिलता बुझ्न सक्ने गरी वर्तमान जिम्मेवार अधिकारीलाई आवश्यक तालिम र सक्षमता प्रदान गरिएको छैन । प्रणाली (सिस्टम) को दुरुपयोग, डिजिटल वा प्रशासनिक प्रणाली (सिस्टम) उपलब्ध भएतापनि त्यसको सही सदुपयोग हुन सकेको छैन । जसका कारण सहकारीहरूको अनुगमन, निरीक्षण र कैफियत देखिएका संस्थाहरू माथि गरिने कानुनी कारवाहीको अवस्था पूर्ण रूपमा शून्य छ। यस्तो चरम उदासीनताले धराने जनताको अरबौंको बचत जोखिममा परेको मात्र नभई, नियमनकारी निकायप्रति नै आम नागरिकको अविश्वास चुलिंदै गएको पार्टीको बुझाई छ ।
तसर्थ यी र यस्ता भद्रगोल र लज्जास्पद अवस्थाको तत्काल अन्त्य गरी धरानका बचतकर्ताहरूको रकम सुरक्षित गर्न र सहकारी क्षेत्रलाई मर्यादित बनाउन राष्ट्रिय स्वतन्त्र पाटी, धरान नगर समितिले उपमहानगरपालिका कार्यबाहक मेयर आईन्द्र बिक्रम बेघा समक्ष ५ बुदे सुझाब सहितको मागपत्र पेश गरेको छ। उक्त मागपत्रको बोधार्थ : को रुपमा भूमि, व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार, काठमाण्डौ लाई पेश गरिएको साक्यले जानकारी दिएका छन ।




