दिव्य रोशनी साप्ताहिकको २२ औं स्थापना दिवसः पत्रकार तथा स्रष्टाहरू सम्मानित

२०८३ जेष्ठ ८, शुक्रबार
पढ्ने समय : 2 मिनेट

दिव्य रोशनी साप्ताहिकको २२ औं स्थापना दिवसको अवसरमा आयोजित विशेष सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम धरान उपमहानगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने पत्रकार तथा स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

साप्ताहिककी सम्पादक मनिता चाम्लिङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका कार्यवाहक मेयर Aindra Bikram Begha रहेका थिए। विशेष अतिथिहरूमा पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा चेम्जोङ, पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, महिला संजाल धरानकी अध्यक्ष सावित्री ईवारम, अग्रज पत्रकार हर्ष सुब्बा र पब्लिक हाईस्कुल धरानका प्रधानाध्यापक डा. ईन्द्र मोहन झा रहेका थिए।

कार्यक्रममा शिक्षाक्षेत्रमा योगदान पुर्याएबापत पब्लिक हाईस्कुलका प्रधानाध्यापक डा. ईन्द्र मोहन झालाई दोसल्ला ओढाई अभिनन्दन गरिएको थियो।

त्यस्तै, पत्रिकाकी सम्पादक मनिता चाम्लिङका स्वर्गीय बुवा क्वीन गोर्खा इन्जिनियरिङ सार्जेन्ट प्रभुराम राईको स्मृतिमा स्थापित ‘उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान’ चिसेफायु अनलाइन मिडियाका सम्पादक निमा पोङसुवालाई प्रदान गरिएको थियो। उक्त सम्मानअन्तर्गत नगद ५ हजार ५ सय रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिएको थियो। सोही सम्मान चलचित्र पत्रकार महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष सञ्जु राईलाई समेत प्रदान गरियो।

यसैगरी, सम्पादक चाम्लिङका दिवंगत दाजु राजु राईको स्मृतिमा स्थापित ‘युवा पत्रकारिता सम्मान’ ब्लाष्ट टाइम्स दैनिकका पत्रकार खिलानाथ विश्वकर्मालाई प्रदान गरियो। उक्त पुरस्कार राशि ५ हजार ५ सय रुपैयाँ र सम्मानपत्र रहेको थियो।

त्यस्तै, सम्पादक चाम्लिङकै अर्का दिवंगत दाजु बाजुन राईको स्मृतिमा स्थापित ‘सृजनशील पत्रकारिता सम्मान’ कोले न्यूजका रोहित कुलुङ राईलाई प्रदान गरियो। गत वर्ष थाती रहेको सोही सम्मानअन्तर्गत यस वर्ष नुमाफुङ मिडियाका स्वर्णिमहाङ फोम्बोलाई समेत ५ हजार ५ सय रुपैयाँ सहित सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक मेयर ईन्द्र बिक्रम बेघा, विशेष अतिथिहरू हिमा चेम्जोङ, डा. ईन्द्र मोहन झा, सन्तोष काफ्ले, अग्रज पत्रकार हर्ष सुब्बा, सम्मानित व्यक्तित्व रोहित कुलुङ राई र स्वर्णिमहाङ फोम्बोले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन तथा स्वागत मन्तव्य सम्पादक मनिता चाम्लिङले राखिन् भने धन्यवाद ज्ञापन पत्रिकाका प्रबन्ध निर्देशक सागर सिंजालीले गरेका थिए। सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय