धरान । धरान–तरहरा सडकखण्डअन्तर्गत जंगल क्षेत्रमा ३३ केभी विद्युत् लाइनको पेट्रोलिङ तथा मर्मतका लागि खटिएको टोली बोकेको कार्यालयको सवारी दुर्घटना हुँदा दुई जना विद्युत् कर्मचारीको निधन भएको छ भने एक जना घाइते भई उपचाररत छन्।
गए राति करिब ११ बजेतिर भएको दुर्घटनामा धरान उपमहानगरपालिका-१३ निवासी ३३ वर्षीय बीर्खबहादुर राई (सेवा करार) र धरान-१६ निवासी ४९ वर्षीय सुमन आचार्य (स्थायी कर्मचारी) को निधन भएको हो। दुर्घटनामा घाइते भएका अर्का एक कर्मचारीको उपचार भइरहेको जनाइएको छ। उहाँको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन। दुर्घटनापछि विद्युत् मर्मत कार्य प्रभावित हुँदा धरानमा रातभर विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। राति करिब २:३० बजेतिर मात्र विद्युत् सेवा पुनः सञ्चालनमा आएको थियो। त्यसपछि कर्तव्यपालनकै क्रममा खटिएका दुई कर्मचारीको निधन भएको खबर सार्वजनिक भएपछि धरानवासी शोकमा डुबेका छन्। विद्युत् सेवा सुचारु राख्न जोखिमपूर्ण परिस्थितिमा समेत निरन्तर खटिने कर्मचारीहरूको असामयिक निधनप्रति विभिन्न व्यक्ति तथा संघ-संस्थाले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।






