मानवीय नेतृत्वको उदाहरण : अध्यक्ष रञ्जना शर्माको पहलमा विपन्न परिवारलाई पक्की घर हस्तान्तरण

२०८३ बैशाख १४, सोमबार
पढ्ने समय : 2 मिनेट

लायन्स क्लब अफ इटहरी स्मार्टसिटीकी अध्यक्ष एमजेएफ रञ्जना शर्माको प्रेरणादायी तथा संवेदनशील नेतृत्वमा झापाको भद्रपुर नगरपालिका–९ स्थित एक अति विपन्न चौधरी परिवारका लागि पक्की घर तथा शौचालय निर्माण गरी सफलतापूर्वक हस्तान्तरण गरिएको छ।

लायन्स अन्तर्राष्ट्रियको ‘मिसन १.५’ अभियान अन्तर्गत सम्पन्न यो परियोजना एक १० वर्षीया बालिकामाथि भएको पीडादायी घटनाबाट उत्पन्न मानवीय संवेदनाको परिणाम हो। उक्त घटनाले गहिरो असर पारेपछि अध्यक्ष शर्माले व्यक्तिगत रूपमा अग्रसरता लिँदै सुरक्षित आवास निर्माणको पहल गर्नुभएको हो।

परियोजनालाई सफल बनाउन अध्यक्ष रञ्जना शर्माले व्यक्तिगत रूपमा रु. २ लाख २८ हजार ५४० योगदान गर्नुभयो भने क्लबमार्फत थप रु. १ लाख संकलन गर्नुभयो। उहाँको दृढ इच्छाशक्ति, नेतृत्व क्षमता र मानवीय सोचले अन्य सदस्यहरूलाई समेत प्रेरित गर्दै ३६ भन्दा बढी सदस्यहरूको सहकार्यमा कुल रु. ५ लाख ८९ हजार लागतमा घर निर्माण सम्पन्न भएको हो।

उद्घाटनमा उच्च प्रशंसा

घर हस्तान्तरण कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ C का डिष्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन बबरजंग थापाले अध्यक्ष शर्माको नेतृत्वको खुलेर प्रशंसा गर्दै भन्नुभयो :

“जहाँ आवश्यकता, त्यहाँ लायन्स भन्ने नारालाई व्यवहारमा उतार्ने उत्कृष्ट उदाहरण यही हो।”

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले समेत अध्यक्ष रञ्जना शर्माको दूरदृष्टि, समर्पण र सेवाभावको उच्च प्रशंसा गरेका थिए।

अध्यक्ष शर्माको भावुक अभिव्यक्ति

कार्यक्रममा बोल्दै अध्यक्ष रञ्जना शर्माले भन्नुभयो :

“यो घर निर्माण गर्नु केवल एउटा संरचना बनाउनु होइन, एउटा पीडित परिवारलाई आश्रय र आत्मविश्वास दिनु हो। यस कार्यमा मलाई जिल्ला गभर्नर एमजेएफ लायन बबरजंग थापा ज्युबाट आर्थिक, नैतिक तथा सल्लाह सुझाव प्राप्त भयो। साथै लायन्सका अग्रजहरू तथा क्लबका साथीहरूको निरन्तर सहयोगका कारण यो परियोजना सफल बन्न सक्यो। सम्पूर्ण सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।”

उहाँले विशेष रूपमा घर निर्माण कार्यमा दिनरात खटेर सफल बनाउने भरत खतिवडा, जोन चेयरपर्सन लायन भूपाल भट्टराई, र लायन योगेन्द्र पौडेल प्रति विशेष आभार व्यक्त गर्नुभयो।

परिवारको कृतज्ञता

नयाँ घर प्राप्त गरेपछि चौधरी परिवारले खुशी व्यक्त गर्दै अध्यक्ष रञ्जना शर्मा तथा सम्पूर्ण सहयोगीप्रति कृतज्ञता प्रकट गरेको छ।

यो परियोजना अध्यक्ष रञ्जना शर्माको मानवीय नेतृत्व, समर्पण र समाजप्रतिको उत्तरदायित्वको जीवित उदाहरण बनेको छ।


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय