प्रथम विष्णुपादुका वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता सम्पन्न, धरान-२० को पर्यटन प्रवर्द्धनमा जोड

२०८३ बैशाख २६, शनिबार
पढ्ने समय : 4 मिनेट

धरान-२० – विष्णु साँस्कृतिक युवा क्लबको आयोजनामा भएको प्रथम विष्णुपादुका वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता सम्पन्न भएको छ। नयाँ वर्ष २०८३ को स्वागतसहित धरान-२० भित्र आन्तरिक खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको थियो।

प्रतियोगितामा धरान उपमहानगरपालिकाको आयोजक टोलीसहित जम्मा १४ टोलीको सहभागिता रहेको थियो।

पवित्र विष्णुपादुका : ऐतिहासिक तथा धार्मिक धरोहर

यो वडालाई विष्णुपादुका नामकरण गरिनुको पछाडि पौराणिक आधार छ। हिन्दु धर्मावलम्बीको पवित्र धार्मिक स्थल तथा विश्व सम्पदा सूचीमा पर्ने भगवान विष्णुको मन्दिर पवित्र कोकाह नदीको शीरमा स्थित छ। यहाँ सत्ययुगमा भगवान विष्णुको पाइला रहेको धार्मिक विश्वास छ।

प्रत्येक वर्ष पौषे औंसीमा यहाँ पितृहरूको मोक्षका लागि पिण्ड चढाउने, श्राद्ध गर्ने र मेला लाग्ने गर्दछ। यही पवित्र स्थलको पहिचानलाई आत्मसात गर्दै विष्णु साँस्कृतिक युवा क्लबको विसं २०८२ मा उदय भएको हो। सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको यस क्लबले पहिलोपटक वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता सम्पन्न गरेको हो।

धरान-२० : पर्यटनको उदीयमान गन्तव्य

धरान-२० पछिल्लो समय पूर्वको पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकसित हुँदै गइरहेको छ। भौगोलिक विविधता तथा फरक मौसमका कारण गर्मी छल्न पर्यटकहरूले लामो दूरीको भेडेटारभन्दा नजिकको धरान-२० रोज्ने गर्दछन्। केही घण्टाको हाइकिङका लागि यहाँ बिहानदेखि बेलुकासम्म पर्यटकको आवागमन रहन्छ।

सुलीकोट : सुनसरीकै सर्वोच्च चुचुरो

सुनसरी जिल्लाकै सबैभन्दा अग्लो चुचुरो सुलीकोट समुद्री सतहदेखि १७०० मिटरको उचाइमा धरान-२० मै अवस्थित छ। लिम्बू समुदायले धार्मिक पर्यटन प्रवर्द्धनका लागि उक्त चुचुरोमा सिलाम साक्मा राखेका छन्। ‘मुन्धुम पदमार्ग’ नामाकरण गरिएको सो स्थलको प्रवेशद्वारबाट चुचुरो पुग्न करिब आधा घण्टा पैदल हिँड्नुपर्छ, जसले हाइकिङको रौनक थपेको छ।

वैशाखमा यहाँ ढकमक्क फुलेको गुराँस र सुनाखरी, कोइलीको मधुर आवाज, चिसो मौसम र बदलिँदो बादलले पर्यटकलाई स्वर्गीय अनुभूति दिन्छ।

ऐतिहासिक रूपमा, विजयपुरे राजाको पालामा राज्यद्रोहीलाई ज्युँदै मृत्युदण्ड दिने पौराणिक पुरातात्विक स्थलको रूपमा सुलीकोट प्रसिद्ध छ। तीखो सुली (तिर) दिएर मृत्युदण्ड दिइने ऐतिहासिक ‘कोट’ भएकाले नै यस ठाउँको नाम ‘सुलीकोट’ रहन गएको इतिहास बताउँछ।

अन्य प्रमुख पर्यटकीय स्थलहरू

  • हिमालयन ध्यान केन्द्र (बाँशिला) : बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र। यहाँ लामा धर्मगुरुबाट प्रवचन र ध्यान गरी धार्मिक लाभ लिन सकिन्छ।

  • झण्डी पार्क (ठुलो खैरे) : गिद्धको बासस्थान भएकाले ‘गिद्धे भीर’ नामले परिचित। गिद्धको बथानको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ। चिसो हावा र बदलिँदो मौसमले यहाँका पर्यटक मोहित हुन्छन्।

  • चिण्डेडाँडा : विशाल सुम्निमा पारुहाङको प्रतिमा निर्माणस्थल। छोटो यात्रापछि यहाँबाट धरानलाई ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ। धरानको नक्सा चित्रण गर्न सकिने विशेष स्थलको रूपमा यो परिचित छ।

  • टोड्के भ्युटावर : अर्को मुख्य आकर्षण।

  • पार्कहरू : श्रम संस्कृति पार्क, गोर्खा स्मृति पार्क, जेष्ठ नागरिक पार्क तथा सालबोटेको निर्माणाधीन बुढाहाङ पार्क।

  • धार्मिक स्थल : भाल्ढुङ्गा स्थित भवानी थान मन्दिर, देवीमार्ग झोलुङ्गे पुलस्थित माँ जगत्जननी मन्दिर, चिउरी बोटे, कोकाह, विष्णुपाउ स्थित बौद्ध गुम्बा र विभिन्न साकेलाथान।

सरकारी लगानीको अपेक्षा

धरान-२० लाई थप पर्यटन प्रवर्द्धन गर्न राज्यको पर्याप्त बजेट लगानी आवश्यक रहेको स्थानीयले बताएका छन्। व्यवस्थित सडक निर्माण र पर्यटक आवागमन सहज भए धरान-२० र यहाँका जनताको आर्थिक पक्ष समृद्धितर्फ अग्रसर हुने निश्चित छ।

जय धरान, जय धरान-२०

हार्दिक धन्यवाद

प्रतियोगितालाई सफल बनाउन अहम् भूमिका निर्वाह गर्ने धरान उपमहानगरपालिका, स्थानीय वडा कार्यालय धरान-२०, अस्थायी प्रहरी चौकी धरान-२०, स्वास्थ्य चौकी धरान-२० लगायत सम्पूर्ण सहयोगी मित्रहरू, प्रिय खेलप्रेमी दर्शक, आयोजक क्लबका साथीहरू, खेलाडी मित्रहरू, निर्णायकहरू, पत्रकार तथा मिडियाकर्मी साथीहरू, स्वयंसेवक युवा भाइहरू प्रति आभार तथा धन्यवाद व्यक्त गरिन्छ।

यहाँहरूको सल्लाह सुझावको सधैँ अपेक्षा गरिन्छ।

सुजन तितुङ तामाङ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय